नवल नेपाल निर्देशित चलचित्र 'मारुनी'को तेस्रो गीत 'हाने मैले झटारो' सार्वजनिक भएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । पुरुषोत्तम ढुङ्गेल र गायक काफ्लेको शब्द रहेको गीतमा गायक काफ्ले स्वयंले सङ्गीत भरेका छन् भने गीतका एरेञ्जर राजन ईशान हुन् । गीतले पुष्प र रेविका को प्रेम भाव व्यक्त गरेको छ । रिसाएकी रेविकालाई फकाउन पुष्पले गरेको मिहिनेत र एक अर्काको माया गीतमा पोखिएको छ । गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले निकै मिहिनेत गरेको देखिन्छ ।

चलचित्रमा पुष्प र रेविका श्रीमान्-श्रीमतीको भूमिकामा छन् र दुईको सम्बन्धमा अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रवेश भएपछि आउने उतारचढावमा फिल्म आधारित छ । साम्राज्ञीले 'मारुनी'मा समलिङ्गीको भूमिका निभाएकी छिन् । पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुयाँल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् । सञ्जय लामाले खिचेको चलचित्रमा सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । मित्र डी ।गुरुङले चलचित्र सम्पादक गरेको हुन् ।