चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना विरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन जनामध्ये अस्मिता कार्कीको बयान आइतबार सकिएको छ भने रवि लामिछाने र युवराज कँडेलको बयान आज लिइनेछ । बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरूले बहस गर्नेछन् । रवि लामिछाने लगायत विरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । जसमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र माग दाबी गरिनुका साथै पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत माग दाबी गरिएको छ ।
रवि र कँडेलको बयान सोमबार बिहान १० बजेबाट सुरु भएको छ । बयान सकिएर चाँडै बहस भए, तीनैजनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने सोमबार आदेश जारी हुनेछ । तर, धेरै कानुन व्यवसायीको वकालतनामा परेकाले बहसले लामो समय लिए, मङ्गलवार मात्रै आदेश जारी हुने बताइएको छ । थुनछेक बहसबाट अभियुक्त दोषी वा निर्दोष छन् भन्ने पूर्णतः निर्क्योल हुँदैन । यो प्रक्रियाबाट अदालतले छाड्न आदेश दिए बाहिरै रहेर कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ । त्यसैले पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको पटाक्षेप भने मुद्दाको अन्तिम फैसला आएपछि मात्रै हुनेछ ।
यसरी तीन जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।