'नेपाल आइडल सिजन २' का निकै रुचाइएका र मिठो स्वर भएका पवन गिरी भर्खरै आफ्नो डेब्यु गीत 'मलाई एकै छिन देऊ' लिएर आएका छन् । नेपाल आइडलको सिजन २ को टप ६ मा पर्न सफल उनको यस गीतमा न्य्हुँ बज्राचार्यको सङ्गीत रहेको छ । नेपाल आइडलबाट बाहिरिए पछिको लामो समय पछि मिडियामा आउँदै उनले यो गीत लन्च गरेका हुन् । आफ्नो गीत सुनेपछी नेपाल आइडलका जजहरू कालीप्रसाद बास्कोटा, इन्दिरा जोशी, अनि उनकै गीतका सङ्गीतकार तथा जज न्य्हुँ बज्राचार्यले निकै मन पराएको र खुसी भएको उनी बताउँछन् । यसैबिच पवनले नेपाल आइडल पछिका आफ्ना दिनहरू र साङ्गीतिक संसारमा आफूलाई स्थापित गर्न गरेका कोसिस बारे धेरै कुरा खोलेका छन् । नेपाल आइडलमा छँदा पनि लजालु कम बोल्ने पवन अलि भिन्न भएर आएका छन् ।

उनी आफ्ना शुभ चिन्तक फ्यानहरूले गरेको मायामा धन्य हुँदै आफ्नो लागी विदेशमा भएका फ्यानहरू रोएको सम्मका किस्सा सुनाएका छन् । उनी भन्छन्. कार्यक्रमको लागी अस्ट्रेलिया जाँदा धेरै फ्यानहरू रुनुभएको थियो, रुनेहरूमा केटी मात्र नभएर धेरै केटा फ्यानहरू पनि हुनुहुन्थ्यो। आफूले नेपाल आइडलमा बिताएका दिनहरू र त्यहाँ सिकेको कुराले जीवनको बाटोमा धेरै सहज हुने विश्वास उनको छ । नेपाल आइडलबाट बाहिर निस्किदा एकाएक आफूमा अर्कै किसिमको जिम्मेवारी बोध भएको उनलाई लाग्छ । नेपाल आइडलले एउटा इज्जत त दियो त्यो भन्दा बढी धैर्य गर्नु पर्ने कुरा सिकाएको छ, उनी थप्छन्  । सङ्गीत क्षेत्रमा निरन्तर लागिपर्ने साहस जुटाउने हो भने यसबाट बाँच्न सकिने उनको बुझाइ छ । आफ्नो पहिलो गीत सार्वजनिक गर्दै गर्दा उनी आफूले पार गर्नु पर्ने बाटोहरूको पनि रेखा बनाउँदै छन् । यस पछि अन्य केही गीत पनि लिएर आउने तयारीमा पवन छन् । उनी आफ्नो भविष्य अनि आफ्नो गन्तव्य यसैलाई देख्छन् । भन्छन्, यो त सुरुवात मात्र हो, हिँड्नु पर्ने धेरै छ ।