कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फुल’को ट्रेलर सार्वजनिक भएको छ । घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा की फुल’ कृतिमाथि निर्माण गरिएको चलचित्रको सार्वजनिक ट्रेलरमा अपाङ्ग भएकै कारण झमकले बाल्यकालमा पाएका दु:ख र पिडालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । जीवनमा निकै सङ्घर्ष र पिडा खेपेर नेपाली साहित्यमा निकै ठुलो योगदान दिएकी घिमिरेले नेपाली साहित्यको निकै सम्मानजनक मदन पुरस्कार पाउन सफल भएकी छिन् जसलाई ट्रेलरमा स्थान दिइएको छैन । साथमा उनको सफलता भन्दा कमजोरीलाई प्राथमिकता ट्रेलरमा दिइएको आभास हुन्छ । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको सिनेमामा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निभाएकी छिन् भने युवा अवस्थाको भूमिका रङ्गकर्मी रोजिता बुद्धाचार्यले निभाएकी छिन् । झमकको जीवनमा प्रत्यक्ष सहयोग पुर्याएकी बहिनीको भूमिका भने सारिका घिमिरेले निभाएकी छन् ।