कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच नेपाली लोक शैलीमा तयार पारिएको ‘नाचौँ छमछम छमछम’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेता भुवन केसी दुलहाको स्वरूपमा छन् भने अभिनेत्री रीमा विश्वकर्मा दुलहीको ।
यसै गरी चलचित्रमा भुवनले दोहोरो भूमिका निभाएको भनिएको छ र गीतमा पनि उनी एक वृद्ध, दुलाहा बनेका भुवनको बाबुको भूमिकामा देखिएका छन् । गीतमा मिलन लामा र रिता केसीको स्वर, सुभाष भुसालको सङ्गीत र देव भुसालको शब्द रहेको छ । भुवन र रीमासँगै गीतको भिडियोमा नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डङ्गोल, विष्णु सापकोटा, कमलमणि नेपाल लगायतलाई पनि स्थान दिइएको छ ।
देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् भने देव भुषालले निर्देशन गरेका हुन् । चलचित्रले राष्ट्रियता र प्रेमको कथा भन्ने बताइएको छ । भुषालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलले छायाङ्कनको पाटो सम्हालेका छन् ।