सुशील गर्तौलाको स्वरमा रहेको गीत 'पहिलो यो माया' सार्वजनिक भएको छ । 'द भ्वाइस अफ' नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशीलको सार्वजनिक गीतमा धनबहादुर गोपाली र श्री केसीको शब्द तथा सङ्गीत रहेको छ । सुशीलको स्वरमा रेकर्ड भएको डेब्यु गीत हो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए । अडिसनबाटै निकै प्रशंसा पाएका सुशील सुगम सङ्गीतमा सम्भावना भएका गायकको रूपमा चिनिएका थिए । भिडियो सहित युट्युबमा रिलिज भएको गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।
भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचर्ड छन् उनीहरूलाई प्राचीन प्रेमिल जोडीको रूपमा प्रस्तुत गरिएको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् यसै गरी गीतको भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन् ।