गायक पुष्पन प्रधानको पूर्वाञ्चल साङ्गीतिक टुर सुरु हुने भएको छ । टुवोर्गको आयोजनामा भदौ १३ गते शुक्रवारबाट सुरु हुने यस टुर भदौ १९ गतेसम्म पूर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ । दमक बाट सुरु हुने कार्यक्रम १३ गते पथरी, १४ गते इटहरी, १५ गते बिर्तामोड, १८ गते इलाम र १९ गते काँकडभिट्टामा आयोजना हुने छ भने पुष्पनलाई विकल्प व्याण्डले साथ दिनेछ । यस बाहेक अन्य स्थानमा पनि कार्यक्रम हुने पुष्पनले बताएका छन् । देश तथा विदेशमा विभिन्न साङ्गीतिक टुर गरिसकेका पुष्पनको नेपालमा पूर्वाञ्चल टुर हुन लागेको हो ।
केही समय अगाडी चर्चित साङ्गीतिक रियालिटी सो नेपाल आइडलमा उनले गाएको गीत ‘पन्छी’ निकै चर्चित बनेको थियो । त्यसपछि उनी निकै व्यस्त बनेका छन् । दर्जनौँ हिट गीत नेपाली सङ्गीत क्षेत्रलाई दिइसकेका गायक पुष्पनको आगामी साङ्गीतिक टुर अमेरिका, युएई लगायतका देशमा हुनेछ ।