चलचित्र ‘छ माया छपक्कै' ले रिलिज डेट तोक्दै पहिलो गीत '‘जुनको जुनेली’ सार्वजनिक गरेको छ । अब यो चलचित्र असोज २४ गते प्रदर्शनमा आउनेछ । सार्वजनिक गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकार फिचर्ड छन् । गीत को भिडियो निर्माणमा धेरै मिहिनेत गरेको देखिन्छ भने गीतले रोपाइँको बेलामा साटिने प्रेम, चाडवाड मेला र हास्य रस सबैलाई स्थान दिइएको छ । पश्चिमेली भाकामा बनेको गीतमा वसन्त थापा र मिना निरौलाले आवाज दिएका छन् । वसन्त थापाकै सङ्गीत रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
दीपेन्द्र लामा निर्देशित चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको सहकार्यमा निर्माण भएको यस फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रमा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ भने जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । 'छ माया छपक्कै'लाई हरि हुमागाईंको छायाङ्कन र विपिन मल्लले सम्पादन गरेका हुन् ।