नेपालमा चलचित्र प्रदर्शनमा ल्याएर लगानी सुरक्षित गर्छु अनि नाफा कमाउँछु भनेर सोच्नु पछिल्लो समय कल्पना मात्र हुने जस्तै भइरहेको छ । किनकि यो वर्ष जेठ यता कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् । आस गरिएका चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न नसक्दा नेपाली चलचित्र क्षेत्रमा मन्दी नै लागेको छ । प्रतिष्ठित ब्यानर र नाम चलेका कलाकार अभिनीत चलचित्रले डिजिटल र ओभरसिज राइट्सबाट भए पनि लगानी केही हदसम्म सुरक्षित गर्न थालेका छन् । आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ ले महँगो मूल्यमा ओभरसिज राइट्स विक्री गरेको छ । शुक्रवार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको छ । प्रदीप खड्काको प्रमुख भूमिका रहेको चलचित्र निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताजी इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् ।
आफूले ‘प्रेम गीत’ सिरिजप्रति दर्शकको विश्वास भएका कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै फिल्मको विदेश राइट्स निर्माण अगावै खरिद गरेको घिमिरेले बताएका छन् । उनी थप्छन् , ‘प्रेम गीत ३’ को ब्रान्डिङ र अभिनेता प्रदीप खड्काको विदेशी भूमिमा निकै राम्रो क्रेज भएका कारण फिल्मलाई महँगो मूल्य तिर्न तयार भएका हौँ । हाम्रो लगानी फिल्मले उठाउनेमा ढुक्क छौँ ।’ निर्माता सेनले आफ्नो जन्मदिन सेलिब्रेट गर्दै निर्माण अगावै ठुलो रकममा फिल्मको विदेश राइट्स विक्री हुनुले आफूहरूमा थप जिम्मेवारी थपिएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसुर नछाड्ने उनको दाबी छ । दसैँपछि फिल्मको छायाङ्कन सुरु हुँदैछ ।