दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेत्रीको रूपमा श्रीमती दीपिका प्रसाईँलाई फाइनल गरेका छन् । चलचित्रमा दीपिकासँग अभिनेता आर्यन सिग्देलको जोडी बाँध्ने तयारी रहेको चर्चा चलेको थियो । तर यति बेला दीपिकाको जोडी आर्यनसँग नभएर पछिल्लो समय चकलेटी हिरोको रूपमा चिनिएका पल शाहसँग बाँधिने खबर बाहिरिएको छ । चलचित्रको छायाङ्कन तिहारपछि सुरु गर्ने तयारी भइरहेको छ । यसैले, पनि अहिले कलाकारको विषयलाई लिएर चर्चा चलिरहेको छ । दिवाकरले २ वटा चलचित्र निर्माण गर्न लागेको र अर्को एक चलचित्रमा आर्यनलाई अफर गरेको कुरा बाहिरिएको छ । यति बेला चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायाङ्कनमा व्यस्त रहेका पल यो चलचित्र सकिएपछि दिवाकरको चलचित्रमा काम गर्ने तयारीमा भएको बुझिएको छ ।
निर्देशक भट्टराईले पलसँग कुरा भएको तर फाइनल नभएको बताएका छन् । लभ स्टोरी जनरामा जमेका निर्देशक र अभिनेताबिच टिम अप भएको खण्डमा दर्शकले राम्रो चलचित्रमा राम्रो केमेस्ट्री देख्न पाउनेछन् । पलको पछिल्लो चलचित्र ‘वीर विक्रम २’ले आस गरिए अनुसार दर्शकको साथ नपाए पनि उनको डिमान्डमा भने कमी आएको छैन ।