चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरूको संस्था चलचित्र पत्रकार सङ्घ, नेपालको आयोजनामा पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । बुधवारबाट पोखरामा रहेको नेपाल पर्यटन बोर्डमा सुरु भएको कार्यशाला शुक्रवार सम्पन्न हुनेछ । चलचित्र पत्रकार सङ्घले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना भएको कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार सङ्घका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सुरु

फिल्ममार्फत देशको पर्यटन प्रवर्द्धनमा निकै ठुला भूमिका रहेको उल्लेख गर्दै मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’ लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । कार्यशालामा सहभागी हुन राजधानीबाट ८० जना र चितवनलगायतका शाखाबाट १० बढी फिल्म पत्रकारहरू पोखरामा भेला भएका छन् । कार्यशालामा प्रशिक्षकको रूपमा रहेका वरिष्ठ पत्रकार राजेन्द्र दाहालले आज पत्रकारिताको आचारसंहितालगायतका विषयमा प्रशिक्षण दिनेछन् । कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धी कानुन, चलचित्र, समीक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धी दक्षताको बारेमा छलफल हुने बताएको छ ।