नेपाल चलचित्र कलाकार सङ्घले मनोनीत पदाधिकारीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै संरक्षक वरिष्ठ अभिनेता निर शाह, सल्लाहकार आजीवन सदस्यहरू दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, सदस्यहरू नायक  विशाल विष्ट, अभिनेत्री आँचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा कलाकार तथा सञ्चारकर्मी सूर्य चन्दलाई स्वागत तथा सम्मान गरिएको थियो । साथमा नायिका आँचल शर्मालाई अध्यक्ष खड्काले पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरू तथा पदेन सल्लाहकारहरु वरिष्ठ अभिनेता कृष्ण मल्ल, वरिष्ठ अभिनेता रमेश बुढाथोकी, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ अभिनेता नबल खड्का लगायत उपस्थित थिए । अध्यक्ष खड्काले सम्पूर्ण चलचित्रकर्मीहरूलाई साझा धारणा बनाएर हातेमालो गर्न तथा सङ्घको हकहितमा काम गर्न आह्वान समेत गरेका छन् । भाद्र २३ गते सङ्घको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ स्थापना दिवस मनाइने जानकारी कार्यक्रममा दिइयो ।