नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र 'वीर विक्रम २' ले दर्शक को साथ  पाएन । जेठमा प्रदर्शनमा आएको यस चलचित्रको असफलता पछि जुन सुकै चलचित्रबाट अफर आए पनि नकार्न नसक्ने वर्षा केही हच्किएकी छिन् । पछिल्लो समय उनी चलचित्र छनौटमा विचार पुर्‍याउन थालेकी हुन् कि भन्ने भान हुन्छ । यति बेला उनी शिवहरि पौडेल निर्देशित चलचित्र ‘लक्का जवान’ मा अनुबन्धित भएर छायाङ्कनमा व्यस्त छिन् । उनले पहिलो पटक चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्न लागेकी छिन् । कलाकारको ठुलो झुन्ड भएको चलचित्रबाट वर्षा निकै आशावादी देखिन्छिन् ।

मुख्य अभिनेत्रीको भूमिकामा काम गर्दा सफलता पाउन नसकेकी वर्षा कलाकारको जम्बो टोलीमा आफूलाई स्थापित गराउन सजिलो भने पक्कै छैन । चलचित्रमा उनीसँगै किरण केसी, दिलीप रायमाझी, सलोन बस्नेत, शिवहरि पौडेल प्रियंका कार्कीलगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा वर्षाको जोडी दिलीप हुन् वा सलोन भन्नेमा अहिलेसम्म निर्माण टिमले गोप्य राखेको छ तर उनले चलचित्रमा पुलिस इन्स्पेक्टरको भूमिका निभाएको भन्ने चाहिँ खुलेको छ । उनले बिहीबार आफ्नो फेसबुक स्टोरीमा इन्स्पेक्टरको पोसाकमा रहेको एक तस्बिर सेयर गरेकी थिइन् ।