छोटो समयमा नै अत्यन्तै लोकप्रिय हुन सफल हास्य टेलिश्रृंखला भद्रगोल केही समयको अन्तरालपछि नेपाल टेलिभिजनबाट आजबाट पुन प्रसारण हुने भएको छ । पुन प्रसारणमा आउन लागेको यस कार्यक्रमबाट निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको समूह भने यस टेलिश्रृंखलाबाट बाहिरिएको छ । आजबाट सुरु हुने श्रृंखलालाई ज्योति काफ्ले र अशोक धितालले संयुक्तरुपमा लेखन तथा निर्देशन गर्ने भएका छन् । अबका दिनमा भद्रगोलमा पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरि निरौला (कक्रोच), मधुसूदन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित पात्रहरू अब भद्रगोलमा देखिने छैनन् ।

नक्कली बाबुराम भट्टराईको भूमिकाबाट चर्चित ज्योति भद्रगोलका प्रारम्भिक श्रृंखलामा मधेसी युवाको भूमिकामा अभिनय गर्थे । उनले अब सोही भूमिकालाई निरन्तरता दिनेछन् । अशोक भने जिग्री-पाँडेको समूहमै थिए । उनले भद्रगोलमा बाहुन डनको भूमिका निभाउँदै आएका छन् र सोही भूमिकालाई निरन्तरता दिनेछन् । कार्यक्रम उत्पादक मिडिया हबले नेपाल टेलिभिजनसित गर्ने वार्षिक सम्झौताको अवधि असार मसान्तमा सकिएको थियो । त्यसपछि नयाँ सम्झौता गर्ने क्रममा भद्रगोलको कलाकार समूह र मिडिया हबबिच विविध विषयमा कुरा नमिल्दा गत साउन महिनापछि भद्रगोलको नयाँ शृङ्खला प्रसारण हुन सकेको थिएन । टेलिश्रृंखलाको उत्पादक मिडिया हबसित विभिन्न विषयमा कुरा मिल्न नसक्दा पाँडे-जिग्री समूह अलग्गिएको हो ।