चलचित्र 'लिलीबिली' को पैसाको कारोबारको कारण चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई केही समय अघि प्रहरीले हिरासतमा लिएको थियो । चलचित्र ‘लिलीबिली’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले वितरक शाही विरुद्ध करिब एक वर्ष अगाडी अपराध महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शाहीलाई भदौ ४ गते सोधपुछका लागि समातिएको थियो । सर्वोच्च अदालतले बुधवार गरेको आदेशपछि उनी १४ दिन लामो हिरासतबाट मुक्त भएका छन् । शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले ‘अदालतले अन्तरिम आदेश दिएको अवस्थामा पनि शक्तिको दुरुपयोग गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको’ बताएका छन् । एक वर्ष अघि चाम्स र खड्काले दिएको उजुरीका आधारमा प्रहरीले हिरासतमा लिएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

व्यक्तिगत मनमुटाबलाई ठुलो इगोको रूपमा लिई शक्तिको आडमा जबरजस्ती शक्तिको प्रयोग गर्दै व्यक्तिको स्वतन्त्रतामा आँच आउने जस्ता कार्यहरूको निन्दा समेत गर्दै काफिया फिल्मस् प्रा .लि .को तर्फबाट विज्ञप्ति सार्वजनिक गरिएको छ । नियतवश चरित्रहत्या गर्ने नियतले शाहीलाई पक्राउ गरी हिरासतमा राखिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञिप्तमा भनिएको छ्,‘विदेशी चलचित्रको दबदबा बढ्दै गइरहेको बेला यस्तो अस्वस्थ गतिविधिले नेपाली फिल्म उद्योगमा सकारात्मक सन्देश जाँदैन,तर अदालतको आदेशले न्याय मरेको छैन भन्ने अनुभूत गराएको छ ।’