विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा हुने विन्ध्यवासिनी सम्मान एवम् सङ्गीत साँझ– २०७६ तथा दसौँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा भएको छ । शनिवार फाउन्डेसनको कार्यसमितिको बहुमतले कार्यक्रमलाई पारित गरेको फाउन्डेसनले जनाएको छ । नगद एक लाख रुपैयाँ राशीसहितको विन्ध्यवासिनी लाईफ टाईम एचिभ्मेन्ट अवार्ड २०७६ लोक गायक कुमार बस्नेतलाई प्रदान गरिने भएको छ । यसै गरी नगद २५ हजार रुपैयाँ राशि भएको विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०७६ गायक दीपक खरेललाई प्रदान गरिने भएको छ । साथमा विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७६ बाट पत्रकार राजेश खनाललाई सम्मान गरिने छ जसमा नगद २५ हजार रुपैयाँ राशि रहने छ ।
विन्ध्यवासिनी गीत सङ्गीत पत्रकारिता सम्मान २०७६ पोखरामा कार्यरत सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको राशि नगद १५ हजार रुपैयाँ छ । आगामी कात्तिक वा मङ्सिरमा आयोजना हुने दुई भिन्न कार्यक्रममार्फत सम्मानित व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने विन्ध्यवासिनी फाउन्डेसनका संयोजक सुवास रेग्मीले जनाएका छन् ।