आइतबार चलचित्र 'पोइ पर्यो काले'को एक कार्यक्रम बिच शीर्ष गीत सार्वजनिक गरियो । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । गीत रिलिज कार्यक्रममा निर्देशक राणा लगायत चार मुख्य कलाकार निकै आकर्षक रूपमा उपस्थित भएका थिए । गीत रिलिज कार्यक्रममा अन्तर्क्रियाका क्रममा कलाकार तथा निर्देशकलाई चलचित्र सम्बन्धी विविध पक्षमा प्रश्न गरिएको थियो । यस अघि एउटै टिमसँग काम गरेकी पूजा पहिलो पटक बाहिरी टिमसँग काम गर्दै छिन् । साथमा रियल लाइफ जोडी श्रृष्टी र सौगात पनि एकसाथ पर्दामा देखिएका छन् । कार्यक्रममा बोल्दै पूजाले आफूलाई बाहिरी टिमसँग पहिलो पल्ट काम गर्दा सुरुका दिनमा निकै अप्ठेरो लागे पनि काम गर्दै जाँदा आफूले निकै सहज वातावरण पाएको र उत्तिकै साथ पनि पाएको बताइन् ।
यसै गरी चलचित्रको नामको विषयमा प्रश्न उठ्दा निर्देशक राणाले चलचित्रको नाम नकारात्मक लागे पनि चलचित्रको कथा र सन्देश कुनै सकारात्मक र समाजलाई गलत सन्देश प्रवाह गर्ने नभएको बताए । चलचित्रले रूपको सुन्दरता भन्दा मनको सुन्दरता महत्त्वपूर्ण हुने र समाजमा चलिआएको प्रचलनबाट प्रभावित भएर उक्त शीर्षक जुराएको उनले थपे । 'पोइ पर्यो काले'को सार्वजनिक गीत मा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तले रामजी लामिछानेको कोरियोग्राफीमा कम्मर मर्काएका छन् ।