मण्डला नाटक घर अनामनगरमा नाटक 'महाभोज' मञ्चन भइरहेको छ । भारतीय लेखक मन्नु भन्डारीको लेखन रहेको यस नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । राजनीति, प्रहरी र मिडियाको स्वार्थमा सर्वसाधारण कसरी जेलिन्छन् भन्ने कथामा आधारित नाटकको अनुवाद बिप्लप प्रतिकले गरेका हुन् । नाटकमा उनलाई पनि देख्न सकिन्छ । नाटकले राजनीतिसँगै पत्रकारिताका विकृति र विसङ्गतिको पनि उछितो काढेको छ । पत्रिकाको पेज देखि प्लेस्मेन्ट, सप्लिमेन्ट्रीदेखि हेडलाइन, रिपोर्टर देखि समाचार स्रोतसम्मको कुरा देखाएको ‘महाभोज’ले प्रकाशकको बाध्यता र लोभी मनको पनि चित्रण गरेको छ ।

नाटकमा राजन खतिवडा, सोमनाथ खनाल, बुद्धि तामाङ, सृजना सुब्बा, प्रमिला खनाल, प्रदीप कुमार चौधरी, आर्जेस रेग्मी, सुषमा निरौलालगायतको मुख्य भूमिका रहेको छ । नाटकमा दिया मास्केको कोरियोक्राफी रहेको छ भने उत्सव बुढाथोकीको सङ्गीत रहेको छ । भदौ १४ देखि मञ्चन सुरु भएको नाटक असोज १२ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५:१५ मा मञ्चन हुनेछ । शनिवार दिउँसो १ बजे अतिरिक्त सो समेत मञ्चन हुनेछ ।