कलाकारहरूको छाता सङ्गठन चलचित्र कलाकार सङ्घले सोमबार स्थापनाको ३२ औँ वर्ष पुरा गर्यो । स्थापना दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको थियो । रविन्द्र खड्का नेतृत्वको कलाकार सङ्घको कार्यक्रममा कलाकारको पातलो उपस्थिति रहेको थियो । यसैबिच कार्यक्रममा नाम चलेका केही कलाकारले उपस्थिति जनाएका थिए ।
कलाकारहरूको साझा संस्थाले आयोजना गरेको कार्यक्रममा उत्साहजनक सहभागिता विगतका दिनमा पनि हुने थिएन भने यो वर्ष पनि स्थिति उस्तै रह्यो । कलाकारकै हक हितको लागी र साझा आवाज बोक्ने सङ्घको कार्यक्रमको कलाकारले नै यसरी उपेक्षा गर्नु कत्तिको स्वाभाविक हो र यस पछाडिका कारण केके हुन् त्यो सङ्घले पनि सोच्ने बेला आएको हो कि ?