पहिलो शृङ्खलाबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘चपली हाइट’ को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । पहिलो शृङ्खला निर्देशन गरेका दीपेन्द्र के . खनालको ठाउँ यो पल्ट निर्देशक निकेश खड्काले लिँदै छन् । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ । यी दुईका अलावा सुपुष्पा भट्ट र नव-अभिनेता प्रतीक श्रेष्ठको पनि अभिनय रहने मङ्गलवार आयोजित घोषणा कार्यक्रममा जानकारी दिइयो । यस चलचित्रमा पहिलो शृङ्खलाका अभिनेता आमिर गौतमले मात्र स्थान पाएका छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रको कथा, टिम र आफ्नो भूमिका निकै सशक्त भएका कारण नकार्न नसकेको अभिनेत्री स्वस्तिमाले बताएकी छिन् । अर्जुन कुमारले निर्माण गर्ने यस चलचित्र आगामी चैतमा प्रदर्शनमा ल्याउने लक्ष राखिएको छ । ‘चपली हाइट ३’ को निर्माण घोषणासँगै निर्माता अर्जुन कुमारले यस चलचित्र पछि निर्माण गर्ने अन्य तीन नयाँ चलचित्रको पनि घोषणा गरे । उनले यो चलचित्रपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको‘फाटेको जुत्ता’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् र त्यसपछि ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र सुरु गर्ने उनले बताए ।