दशैको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्र अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर आउट भएका छन् । चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ । साथमा पोस्टरमा रविन्द्र झा, नीता ढुङ्गाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् । साथै चलचित्रको शीर्ष गीत शुक्रवार रिलिज गरिँदै छ । दसैँ लक्षित चलचित्रको सार्वजनिक पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दसैँ आएको भान गराउँछ । शुक्रवार सार्वजनिक हुने गीत चलचित्र ‘अल्लारे’को सुपर हिट गीत ‘रातो टिका निधारमा’लाई रिमेक भर्सनमा ढालिएको छ । रिमेक भर्सनमा साम्राज्ञी र अंकितले ठुम्का लगाएका छन् । गीतको कोरियोग्राफी वसन्त श्रेष्ठ भरेका छन् । नयाँ गीतमा प्रमोद खरेल र मेलिना राई स्वर दिएका छन् ।

‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक

ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।