अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को छैटौँ ‘इनास फिल्म अवार्ड’ आगामी असोज २७ गते काठमाडौँमा आयोजना हुने भएको छ । इनासले एक विज्ञप्ति सार्वजनिक गर्दै यस पटक वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' बाट सम्मानित गर्ने जानकारी दिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने अवार्ड कार्यक्रममा नेपाली फिल्मका गीत सङ्गीतमा अतुलनीय योगदान पुर्याएका गजमेरको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष- २०२०' लाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको इनास अवार्डमा सयौँको सङ्ख्यामा एनआरएनहरूको उपस्थिति रहने बताइएको छ । ‘ममता र समर्पण मातृभूमिको लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो अवार्ड यसअघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौँमा भइसकेको छ । यस पटकको अवार्ड पनि सभ्य र भव्य बनाउने तयारी सुरु गरिएको संयोजक श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।