सुवर्ण थापाले निर्देशन गर्ने चलचित्र ‘राम राम’मा अभिनेता सौगात मल्लले काम नगर्ने भएका छन् । केही समय यता सौगातका हातमा एक पछि अर्को चलचित्र आइरहेका छन् भने उनले उसै गरी चलचित्रको अफर पनि नकार्दै आइरहेका छन् । उनको अभिनय र फरक शैलीलाई दर्शकले पत्याएका छन् र निर्मातालाई पनि उनलाई आफ्नो चलचित्रमा लिन सोच्नु पर्ने स्थिति छैन । तर यिनै सौगात पछिल्लो समय चलचित्रमा काम गरेको कारणले भन्दा नगरेको कारण चर्चामा छन् । मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ केही वर्षयता लिभिङ टूगेदरमा छन् । एक अर्काको मायामा हराइरहेका उनीहरू  चलचित्रमा पनि एकसाथ देखिन थालेका छन् । सौगातले आफूलाई अफर आएका सिनेमामा श्रृष्टिलाई पनि सिफारिस गर्न थालेका छन् र श्रृष्टि नभए उनी अनुबन्ध भएको फिल्म छाड्न पनि पछाडि नहट्ने भएका छन् ।  

केही समय अघि सौगातले ‘चपली हाइट ३’ बाट हात झिकेका थिए । यसै गरी उनले फेरी चलचित्र 'राम राम'बाट पनि हात झिकेका छन् । ‘राम राम’ युनिटले सौगातले श्रृष्टिलाई सिफारिस गरेको र सौगातले सृष्टिकै लागि भनेर सिनेमाको कथा परिवर्तन गर्न पनि आग्रह गरेका थिए । तर, निर्माण पक्षले सौगातको दबाब स्वीकार गर्न नसक्दा उनी चलचित्रबाट बाहिरिएका कुरा खोलेको छ । सुवर्ण थापाले निर्देशन गर्ने यस चलचित्रबाट सौगात बाहिरिएपछि अभिनेता विपिन कार्कीसँग सोही भूमिकाको लागी कुरा भइरहेको बुझिएको छ ।