सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी जोडिए यता चलचित्र निकै चर्चामा छ । भोलि शुक्रवारबाट प्रदर्शनमा आउने यस चलचित्रको प्रिमियरको लागि आज सन्नी नेपाल आएकी छिन् । दिउँसो ४ : १० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् । एअरपोर्टबाट हायात होटेल पुगेर केहि समय विश्राम गरेपछि सन्नी आज बेलुका ७:३० बजे कुमारी हलमा हुने ‘पासवर्ड’को रेड कार्पेट प्रिमियरमा सहभागी हुनेछिन् र मिडिया साक्षात्कार सँगै चलचित्र पनि हेर्ने कार्यक्रम रहेको छ । शुक्रवार सन्नी राजधानीका केही ठाउँ समेत घुम्ने छिन् भने शनिवार भारत फर्किने छिन् । 'पासवर्ड'मा सन्नीले 'आजको साम' शीर्षकको गीतमा ठुम्का लगाएकी छिन् भने निर्माण पक्षका अनुसार चलचित्रमा उनको अभिनय समेत रहेको छ ।
चलचित्रमा सन्नीका साथै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायत कलाकारको अभिनय रहेको छ । अंकित गौतम कार्यकारी निर्माण रहेको चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका छन् । यसै गरी युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के । आर थापाको सह-लगानी रहेको चलचित्रको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । एक्सन, कमेडी, थ्रिलर जनरामा बनेको चलचित्रमा प्रचार प्रसारको लागी मात्र नभएर नेल्पाली चलचित्रलाई विश्वमा चिनाउन लक्षले चलचित्रमा सन्नी जोडिएको निर्माण पक्षले जनाएको छ ।