बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी उनी फिचर्ड नेपाली चलचित्र 'पासवर्ड' को प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । बिहीबार साँझ नेपाल आइपुगेकी सन्नीले बिहीबार नै आयोजित प्रिमियरमा सहभागी भइन भने चलचित्रको बारेमा अन्तर्क्रिया समेत गरिन् । काठमाडौँको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुसी व्यक्त गरिन् । यसै गरी उनले नेपाल विश्वकै सबैभन्दा सुन्दर देश भएको र आफूलाई निकै मन पर्ने बताएकी छिन् । नेपालमा आफूले पाएको आतिथ्य र माया ले निकै उत्साहित बनाएको र आगामी दिनमा पनि आफू नेपाली चलचित्रमा काम गर्न चाहेको बोलिन् । कडा सुरक्षा व्यवस्था बिच प्रिमियरमा पुगेकी उनले करिब आधा घण्टा चलचित्र पनि हेरिन् । 'पासवर्ड'को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी उनले यो गीत धेरै पटक सुनेको र नेपाली गीत भए पनि लिप्सिङ गर्न कुनै अप्ठेरो नभएको बताइन् ।
भव्यताका साथ आयोजना गरिएको प्रिमियरमा फिल्मका निर्देशक सम्राट बस्नेत, कलाकारहरू अनुपविक्रम शाही, विक्रम जोशी, परि राना, रविन्द्र झालगायत उपस्थित थिए । अभिनेता भुवन केसी, निर्देशक दीपश्री निरौला, निर्देशक दीवाकर भट्टराई, अभिनेता मनिष सुन्दर श्रेष्ठलगायत पनि फिल्म हेर्न हल पुगेका थिए ।