आज शुक्रवारबाट बलिउड अभिनेत्री सन्नी लियोनी र अनुपविक्रम शाही स्टारर चलचित्र 'पासवर्ड' प्रदर्शनमा आएको छ । साथमा आजैबाट जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र 'हिरो नम्बर १' पनि प्रदर्शनमा आएको छ । बिहीबार राजधानी स्थित कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियर शोको आयोजना गरिएको थियो भने प्रिमियरकै लागी सन्नी नेपाल आएकी थिइन् । चलचित्रलाई द्वन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेका हुन् उनको यो फेब्यु निर्देशन हो । सन्नी लियोनीका कारण चर्चामा रहेको यस चलचित्र औसत प्रचारप्रसारका साथ प्रदर्शनमा आएको छ भने आयोजित प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । ठुलो बजेटमा निर्माण भएको सिनेमाले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । 'पासवर्ड'ले देशभरका मल्टिपेलेक्सदेखि सिङ्गल स्क्रिनसम्ममा राम्रो शोज् प्राप्त गरेको छ । एक्सन प्रधान चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ ।
यसै गरी चलचित्र 'हिरो नम्बर १' कमेडी कथामा निर्माण भएको छ भने देशभरका सिङ्गल स्क्रिनमा मात्रै रिलिज भएको छ । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । ताराबीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको सङ्गीत, शङ्कर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायाङ्कन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।