अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा नायक अनमोल केसीको जोडी  जसिता गुरुङसँग बाँधिने भएको छ । चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी 'एन्टी हिरो'मा देख्न पाइनेछ । निर्माता केसी केही समय यता चलचित्रका लागि अभिनेत्रीको खोजीमा थिए । उनको नजरमा दुई अभिनेत्री थिए, साम्राज्ञी आरएल शाह र जसिता गुरुङ । उनले साम्राज्ञीलाई छोडेर जसितालाई रोजेका छन् र निर्माण पक्षले जसितासँग मौखिक सहमति गरिसकेको बुझिएको छ ।

चलचित्रमा भुवनको पनि अभिनय रहनेछ । उनी नेगेटिभ रोलमा देखिँदै छन् । बाबु  भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । चलचित्र एक्सन-लभ स्टोरी जनरामा निर्माण हुने छ भने तिहारपछि फ्लोरमा जानेछ । चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको छ । अन्य टिम र कलाकार तथा निर्देशक भने अझै फाइनल भैसकेका छैनन् ।