पछिल्लो समय नेपालमा वेब सिरिजहरूले दर्शकको मन जित्न थालेका छन् । विभिद विषयलाई समेटेर निर्माण गरी इन्टरनेटमा अपलोड गरिएका सिरिजले केही समय अघि निकै लोकप्रिय मानिने टेलिशृङ्खलाको ठाउँ लिइरहेका छन् । टेलिभिजनको समय, विज्ञापन अनि अन्य झन्झटबाट टाढा रहेर आफूले निर्माण गरेको सिरिज इन्टरनेटमा रिलिज गर्दा निर्मातालाई त सजिलो हुने नै भयो दर्शकलाई पनि निकै सहज हुने गरेको छ । आफूलाई पायक परेको समयमा रोजाइ अनुसार हेर्न मिल्ने यस्ता सिरिजको निर्माण बढ्दो छ । यसैबिच डान्स फिभर र ओएसआर डिजिटलको प्रस्तुति वेब सिरिज 'जासुस मामा भान्जी' को पहिलो एपिसोड आज शुक्रवार आइफ्लिक्समा रिलिज हुँदै छ । कमेडी सस्पेन्स र थ्रीलर सिरिज केही दिनमा ओएस आर डिजिटलको युट्युब च्यानलामा पनि रिलिज हुनेछ । गजित बिस्टले लेखन निर्देशन गरेको सिरिज सङ्गीतकर्मी प्रदीप बास्तोलाको सङ्गीत निर्देशन रहेको छ ।

यसै गरी 'जासुस मामा भान्जी'मा अर्चना खनालले चिफ असिस्टेन्ट डिरेक्टर र स्क्रिप्ट इम्प्रोभाइजरको काम गरेकी छिन् । सिरिजमा गजित विष्ट, आर्शिना भट्टराई, निर्मल शर्मा, अर्चना खनाल, मेलिना ओली आदि कलाकारको अभिनय रहनेछ । साथमा शिशिर भण्डारी, मञ्जु पौडेल, कमलकान्त मैनाली, कबिर खड्का तथा सुनिल कटवाल पनि अतिथि कलाकारको रूपमा देखिनेछन् । निर्देशक विष्टका अनुसार प्रत्येक शुक्रवार यो वेब सिरिजको नयाँ शृङ्खला युट्युबमा अपलोड हुनेछ ।