अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ । असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको सङ्गीत रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् । गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले कम्मर मर्काएका छन् । रविन्द्र झा, निता ढुङ्गाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारलाई समेटिएको गीतमा वसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

ए . ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । गीतमा साम्राज्ञी र अंकितको जोडी निकै सुहाएको छ भने गीतले चलचित्रप्रति अझ कौतूहल थपिदिएको छ ।