थापागाउँस्थित कुञ्ज नाटक घरमा दसैँको विषयवस्तु रहेको नाटक 'टिका' मञ्चन भइरहेको छ । भीमनिधि तिवारीले लेखेको नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गरेका छन् । परिवारको सुखका नाममा कमाउने बाध्यताले मुग्लान भासिनु नेपालीको व्यथाले आफ्नो घर परिवार र रमाइला चाडबाडबाट कसरी टाढा बनाउँछ भन्ने कथामा नाटक आधारित छ । नाटक 'टीका'मा एकातिर परिवारसँग बिछाेडिनुकाे पिडाको चित्रण छ भने अर्कोतिर देशमै केही गर्नुपर्छ भन्ने राष्ट्रवादी भावनालाई पनि जाेड दिइएकाे छ। श्र
वण राना मगर, विनीता गुरुङ, शारदा अधिकारी, राजकमल फकिर, दीपेश काफ्ले, सबिन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन, आनन्द महतलगायतका कलाकारले अभिनय गरेका नाटकमा ग्रामीण नेपाली परिवेशका दु:ख निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । ऐक्य हेभन अफ आर्टको प्रस्तुति 'टिका' भदाैँ ३१ गतेसम्म बुधवार बाहेक हरेक दिन ५:३० बजे र शनिवार दिउँसो १ बजे मञ्चन हुनेछ ।