शुक्रवारबाट प्रदर्शनमा आएको सन्नी लियोनी र अनुपविक्रम शाही स्टारर चलचित्र 'पासवर्ड'को प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइन् । धूमधामसँग प्रिमियर सम्पन्न भयो । निर्माताले ठुलो लगानी गरेर सन्नीलाई चलचित्रमा भित्र्याए र ठुलो खर्चमा नेपाल भित्र्याए । चलचित्रको लागी सन्नी निकै महत्त्वपूर्ण पाटो थिइन् । निर्माताको आस र भरोसा बोकेकी सन्नी नेपाल आउँदा उनलाई सुरक्षा दिन र सम्मान पूर्वक स्वागत गर्न निर्माण पक्षले सक्दो प्रयास गरे । यती गर्दा गर्दै पनि सन्नी कार्यक्रममा केही त्रसित देखिन्थिन् । कार्यक्रमका सहभागीले गरेको अपरिपक्व व्यवहारले नै हुन सक्छ उनले पुरै चलचित्र हेरिनन् । निर्माता अमित बस्नेतका अनुसार सन्नीलाई नेपाल ल्याउन आफूले २ करोड भन्दा बढी खर्च गरेको बताएका छन् । प्रिमियरमा नेपालका अन्य कलाकार पनि सहभागी थिए तर सन्नीको अगाडी उनीहरू छायामा परे । नेपाल लगायत विश्वका विभिन्न १२ देशमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रको पहिलो सोमा मिश्रित प्रतिक्रिया मिलेको छ ।
चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो भनेका छन् । दर्शकले विशेषतः खलनायकको भूमिका निभाएका अनुपविक्रम शाहीको अभिनय मन पराएका छन् । अन्तर्राष्ट्रिय स्तरमा निर्माण भएको भनिएको चलचित्रलाई समग्र रूपमा दर्शकले राम्रो भनेका छन् । 'पासवर्डका निर्माता अमित बस्नेतले चलचित्रबाट पाएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको र पहिलो कामबाट यती सफलता पाउनु आफ्नो लागी ठुलो भएको बताउँछन् । यसै गरी चलचित्रले आफ्नो लगानी सुरक्षित गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।