बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनी बिहीबार नेपाल आइन् । उनले आइटम गीत प्रस्तुत गरेको चलचित्र 'पासवर्ड'को प्रिमियरमा उनलाई बोलाइएको थियो । उनको उपस्थितिलाई भव्यताका साथ स्वागत गरियो । लाखे नाच सहित आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा सहभागी भएसँगै यस विषयमा चर्चा परिचर्चा निकै चलिरहेको छ । धेरैले पूर्व पोर्न स्टारलाई नेपालमा ल्याउँदा राम्रो सन्देश नदिने बताएका छन् भने कलाकारलाई सम्मान गर्नु पर्छ भन्ने पनि कम छैनन् । यसैबिच नेपाली कलाकारहरूले पनि यस विषयमा आफ्नो विचार राख्दै आएका छन् । यस विषयमा गायिका ज्योति मगरले पनि आफ्नो विचार राखेकी छिन् जुन सामान्य लागे पनि यसमा उनको भोगाइ जोडिएको छ । उनले आफूलाई भल्गर भन्ने तर सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले बन्द गराएको साइटको हिरोनी नेपाल आउँदा पञ्चकन्या र लाखे नाचले स्वागत गर्ने भन्ने विचार फेसबुकमा राखेकी थिइन् । उनको यस विचार अभिनेत्री करिश्मा मानन्धरले समर्थन जनाउँदै साझेदारी गरेकी छिन् । ज्योतिको विचारमा सहमति जनाएसँगै उनलाई पनि सन्नीलाई नेपालमा गरिएको स्वागत मन नपरेको बुझिन्छ ।
हुन त हरेक विषयमा आफ्नो विचार राख्न पाउनु हरेक व्यक्तिको अधिकार हो । अझ कलाकार त झनै प्रतिष्ठित एवम् सबैको प्रतिनिधि गर्ने व्यक्ति हुन् । जसको विचारलाई सबैले मनन गरिरहेका हुन्छन् । कुनै कुरामा सहमति असहमति जनाउनु आफ्नो कुरा भयो तर मान्छेको विगतलाई जोडेर उसको अस्तित्व माथि प्रश्न गर्नु कति उचित हुन्छ त्यो सायद सबैलाई थाहा हुने कुरा नै हो । नेपालमा बलिउडका कलाकारलाई सम्मान दिइन्छ, यथार्थ यो हो कि नेपालका कलाकारलाई बलिउडमा चिन्दा पनि चिन्दैनन् एकाध बाहेक । सम्मान र स्वागतको कुरा त परको भयो । सायद नेपाली कलाकारलाई यसको तुष छ । उनीहरूलाई सम्मान नदिने देशका कलाकारलाई नेपालमा भव्य स्वागत गर्नु र उनीहरूको काम मन पराउनु पाच्य नभएको हुनसक्छ । तर कलाकार भनेका दर्शक श्रोता अर्थात् समग्र जनताको नजरमा पर्ने मान्छे हुन । जसले राम्रो र सम्झिन योग्य काम गर्छ उसैको तारिफ सबैतिर हुन्छ । सायद आफूले सम्मान खोज्नु भन्दा पनि सम्मान गर्न योग्य मान्छेलाई सम्मान गर्नु र आफूलाई सम्मान दिन मन नलागेको मान्छेलाई सभ्य आलोचना गर्ने बानीले कसैलाई हानी नगर्ला कि ?