ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को दोस्रो गीत ‘ह्योल्मो युल्ला’ सार्वजनिक भएको छ । ह्योल्मोहरुले आस्थाको केन्द्र मान्दै आएको ह्योल्मो समाजसेवा केन्द्र बौद्ध तिन्चुलिमा ह्योल्मो समुदायका बुद्धिजीवी र विशिष्ट व्यक्ति तथा  ह्योल्मोको विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । दावा डी ह्योल्मो र दोर्जे वाङ्छुक ह्योल्मोको शब्द रहेको गीतमा दावा डी ह्योल्मो र तेन्जिङ ह्योल्मो आङ डोल्माको स्वर रहेको छ । गीतमा दावा डी ह्योल्मोलेनै सङ्गीत भरेका छन् । “मेतोक चलचित्रको अभियान, ह्योल्मो भाषा, धर्म कला संस्कृतिको संरक्षण र संवर्द्धन” भन्ने मुलनाराका साथ चलचित्र निर्माण भएको नायक तथा निर्देशक समेत रहेका ठिलेन लामाले बताएका छन् ।

ठिलेन लामाको कथा र आगत के.सीको पटकथा र संवाद रहेको छ भने चलचित्रलाई राम कुमार केसीले खिचेका छन् भने सन्देश शाहले सम्पादन गरेका छन् । चलचित्रमा ठिलेन लामा, निमा डोल्मा लामा र दावा दोर्जे लामाको मुख्य भूमिका रहेको छ । चलचित्र यही आउँदो असोज १७ गते प्रदर्शनमा आउनेछ ।