निर्माता माधव वाग्लेले चलचित्र 'पारस'बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । ‘लुट’ सिरिज सहित आधा दर्जन चलचित्र निर्माण गरिसकेका उनले एक अभागी मान्छेको कथामा चलचित्र निर्माण गर्ने भएका हुन् । आइतबार उनले आफ्नो आधिकारिक फेसबुकबाट चलचित्रको घोषणा गरेका हुन् भने निश्चल बस्नेत मुख्य भूमिकामा देखिनेछन् । वाग्लेले निर्माण गरेको ‘लुट’ सिरिजलाई निश्चलले निर्देशन गरेका थिए भने वाग्लेले निर्देशन गर्ने 'पारस'मा निश्चल अभिनय गर्दै छन् । दु:ख गरेर चलचित्रमा लगानी गर्ने निर्माता तर नाम भने कलाकार र निर्देशकको मात्र आउने र चलचित्रको जस उनीहरूलाई मात्र जाने भएकाले चलचित्रसँग जोडिने नाम र जिम्मेवारीमा आफ्नो नाम लेखाउने लोभले आफू निर्देशनमा होमिएको वाग्लेले बताएका छन् ।

‘लुट २’ पछि निश्चल र वाग्लेबिच सम्बन्ध चिसिएको हल्ला चलेको थियो अब भने हल्ला हल्लामै सीमित थियो भन्ने पुष्टि भएको छ । यसै गरी चलचित्रमा निश्चलका साथमा सन्दीप क्षेत्री पनि फाइनल भएका छन् साथै यसै चलचित्रबाट समीक्षा पोखरेलले अभिनेत्रीको रूपमा डेब्यू गर्दै छिन् । 'पारस' आगामी मङ्सिरबाट छायाङ्कनमा जाने छ भने  चैत २८ गते प्रदर्शनमा आउने टुङ्गो लागिसकेको छ ।