असोज ३ गतेबाट प्रदर्शनमा आउने यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ तीन लाख सहयोग गरेको छ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेललाई आइतबार चलचित्रका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र यति बेला प्रचारप्रसारको क्रममा छ । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रले सामाजिक काममा सहयोग गरिरहेको छ । सहयोगको चेक बुझ्दै ‘धुर्मुस सुन्तली फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले क्रिकेट रङ्गशाला निर्माणमा फिल्मकर्मीबाट मिलेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान समेत गरेका छन् । अभिनेता दयाहाङ राईले क्रिकेट रङ्गशाला निर्माणका लागि सानो भए पनि चलचित्रको तर्फबाट सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताएका छन् ।
उनले देशको गौरवको आयोजना भएका कारण सबै नेपालीलाई आ-आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न पनि आग्रह गरे । चलचित्रको सार्वजनिक गीतसङ्गीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तर द्वन्द्वको कथा रहेको चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको यसमा अभिनय रहेको छ ।