चर्चित गायक राजेश पायल राईको घरमा आगो लागेको छ । शान्तिनगर स्थित उनको घरमा सोमबार दिउँसो आगलागी भएको हो । आगो लागिबाट मानवीय क्षेत्री नभए पनि आर्थिक क्षतिका साथमा राईको अवार्ड तथा प्रमाणपत्र जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आई नसकेको भए पनि एउटा कोठामा रहेको सम्पूर्ण अवार्ड, टेलिभिजन लगायत तीन लाख भन्दा माथि पर्ने पियानो र अन्य सम्पूर्ण सामान जलेर नष्ट भएको बताएको छ । टिभीको तार सट भएर आगलागी भएको अनुमान गरिएको छ । यति बेला राई साङ्गीतिक कार्यक्रमको लागि बाहिर रहेका छन् । गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तकको आशीर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन् ।
उनले यस घटनामा अफु मर्माहत भएको तर हिम्मत नहारेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म पीडामा छैन किनकि तपाईँहरूको आशीर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरूले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईँहरूले दिएको आशीर्वाद माया, सुझाव नजलोस् । म सदा तपाईँहरूकै काखमा लुट्पुटिने मान्छे ।’ उनको दुखमा महानायक राजेश हमालले पनि सहानुभूति व्यक्त गरेका छन् ।