कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को यति बेला छायाङ्कन भइरहेको छ । छायाङ्कनको बिचमा आएर चलचित्रमा नयाँ नायकको प्रवेश भएको खुलेको छ । ती नायक हुन सबिन श्रेष्ठ, चलचित्रको छायाङ्कन भएको सुरु भएको केही हप्तापछि उनी सेटमा पुगेका हुन् भने यो जानकारी उनी आफैँले सार्वजनिक गरेका हुन् । सोमबार फेसबुकमा क्ल्याप र चलचित्र युनिटसँगको फोटो राख्दै सविनले लक्का जवानमा आफू आबद्ध भएको खुलासा गरेका हुन् । दर्जन बढी कलाकारहरू रहेको चलचित्रमा सविनको भूमिका भने गोप्य नै राखिएको छ । चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो ।
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् । चलचित्र ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्ने छ । 'लक्का जवान'मा किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहने छ ।