मल्टीस्टारर तेलुगु चलचित्र ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक भएको छ । वर्षकै बहुप्रतीक्षित यस चलचित्र गान्धी जयन्तीको अवसर पारेर अक्टोबर २ मा रिलिज हुँदैछ । ऐतिहासिक व्यक्तित्व 'उइलावाडा नरसिम्हा रेड्डी'को जीवनीमा आधारित तेलुगु चलचित्रको ट्रेलर निकै भव्य बनेको छ । चलचित्रलाई सुरेन्दर रेड्डिले निर्देशन गरेका छन् । ट्रेलरमा देखिने ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्सको मिश्रणले चलचित्र वजनदार भएको प्रस्ट हुन्छ ।
तेलुगु स्टार चिरञ्जीवी, बलिउड मेगा स्टार अमिताभ बच्चन, किचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय रहेको छ ।चलचित्र तेलुगु, हिन्दी, तमिल, कन्नडा र मलायम गरी चार भाषामा रिलिज हुनेछ । यस चलचित्र अक्टोबर २ मा रिलिज हुने भएसँगै बलिउडमा दुई निकै प्रतीक्षित चलचित्र बिच रोचक भिडन्त हुने भएको छ । यही मितिमा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र ‘वार’ पनि रिलिज हुँदैछ ।