यति बेला बलिउड चलचित्र ‘ड्रीम गर्ल’ पहिलो हप्तामा र ‘छिछोरे’ दोस्रो हप्तामा प्रदर्शन भइरहेका छन् । यी दुवै चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् । आयुष्मान खुराना अभिनीत ‘ड्रीम गर्ल’ ले प्रदर्शनको पाँच दिनमा ५९ करोड ४० लाखको व्यापार गरिसकेको र अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपुर अभिनीत फिल्म ‘छिछोरे’ १२ दिनमा सय करोडको व्यापार गरिसकेका बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेका छन् ।‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले राम्रो व्यापार गरिरहेको र बिचमा ठुला ब्यानरका प्रतीक्षित चलचित्र न आउँदा दुवै चलचित्रले लामो यात्रा गर्ने तरणले अनुमान गरेका छन् ।

राम्रो ओपनिङ गरेका दुवै चलचित्रले बिस्तारै आफ्नो गति बढाउँदै छन् । ‘ड्रीम गर्ल’मा आयुष्मानको काम, यसमा प्रयोग भएका संवादलाई दर्शकले रुचाएका छन् । राज शान्दिल्याको निर्देशनमा बनेको यो चलचित्रमा नुश्रत भरुचा, अन्नु कपुर, विजय राजको पनि अभिनय छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।  ‘दंगल’ निर्देशक नितेश तिवारीले  ‘छिछोरे’ को निर्देशन गरेका हुन् । यसमा सुशान्त र श्रद्धाका अलावा वरुण ग्रोवर, प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी, नलनीश नीललगायतका कलाकारहरूको अभिनय छ । यो फिल्ममा कलेजका साथीहरूको कथा देखाइएको छ । जसमा प्रेम, रिस, ह्यूमर, दुःख र मोज मस्ती सबै छ ।