अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठ केही समय यता प्रेम सम्बन्धमा छन् । सौगात नेपाली फिल्म जगतमा डिमान्डेड अभिनेता हुन् । पछिल्लो समय उनको हातमा मनग्गे चलचित्र छन् । उनका हातमा आएका चलचित्रमा केहीलाई उनले नकारिरहेका छन् । चलचित्र वृत्तमा उनले प्रेमिका श्रृष्टिलाई लिन निर्माता निर्देशकलाई दबाब दिने गरेको चर्चा छ । श्रृष्टिलाई लिने अवस्था नभएपछि आफू अनुबन्धित भएको चलचित्र समेत छाडेको चर्चा केही समय यता चलिरहेको छ । चलचित्र ‘चपली हाइट ३’ र ‘राम राम’ मा श्रृष्टिलाई लिन दबाब दिँदा पनि सम्भव नभएपछि सौगात आफैले हात झिकेको बताइन्छ । तर सौगात यो कुरालाई स्वीकार गर्दैनन् ।

आफूलाई चलचित्रमा अफर गर्दा निर्माता र निर्देशकले अभिनेत्रीमा श्रृष्टि राख्दा कस्तो होला भनेर सुझाव मागेमा हुन्छ भनिदिने तर, कुनै हालतमा उसलाई राख्नै पर्छ नभए म फिल्म नै गर्दिनँ भनेर कहिल्यै नभनेको र आगामी दिनमा पनि नभन्ने उनको भनाइ छ । ‘चपली हाइट ३’ र ‘राम राम’ श्रृष्टि नभएकाले नभई आफ्नो काम व्यस्तताले छाड्नु परेको उनले मिडियामा बताइरहेका छन् । साथै श्रृष्टिले पनि सौगातको सिफारिसमा आफूले काम पाइरहेको हल्ला गलत भएको दाबी गरेकी छिन् ।