चर्चित फिल्म ‘होस्टेलको दोस्रो भागबाट चर्चामा आएका अभिनेता सुशील श्रेष्ठ अभिनीत चलचित्र ‘बादशाह जुट’ कार्तिक १ मा रिलिज नहुने भएको छ । यो चलचित्र अब दुई साता पछाडि अर्थात् कार्तिक १५ बाट प्रदर्शनमा आउने भएको छ । जोनी सिंह राणा निर्देशित ‘बादशाह जुट’ असोज २३ गते यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै’ आउने भएपछि पछि हटेको हो । उसो त कार्तिक १५ सुशील कै अर्को चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आउँदै छ । प्राप्त खबर अनुसार एकै डेटमा सुशीलका दुई चलचित्र रिलिज गर्दा दुवै पक्षलाई नकारात्मक असर पर्ने देखिने भएकाले ‘लभ डायरिज’ केही पछाडि हट्न तयार भएपछि ‘बादशाह जुट’के कात्तिक १५ लाई मिति लक गरेको हो । अभिषेक शशि कुमारले लेखेको ‘बादशाह जुट’मा सुशीलसँगै रोबिन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।

आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको ‘बादशाह जुट’ एच एण्ड बि फिल्मस् प्रा .लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा .लि . को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र हो । चलचित्रमा कृष्ण भारद्वाजकोशिस क्षेत्रीको सङ्गीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, राजु कार्कीको छायाङ्कन र दीर्घ खड्काको सम्पादन रहेको छ । साथै चलचित्रमा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् ।