यो वर्षको आइफा अवार्ड केही पहिला देखी नै चर्चामा थियो । नेपाल मा आयोजना गरिने भनिएको यस अवार्ड चौतर्फी विरोध र असहमति का कारण नेपाल मा हुन सकेन । २०२० को पर्यटन वर्ष सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आशा सहित सरकारले नेपाल मा आयोजना गर्ने निर्णय लिएको थियो तर विरोध र आलोचनाको अगाडी सरकारको केही लागेन र अन्ततः आइफा अवार्डको २० औँ संस्करण भारतमा नै सम्पन्न भयो । बुधवार आयोजना भएको बलिउडको सबैभन्दा ठुलो अवार्डमा बलिउडका नाम चलेका प्राय कलाकारको उपस्थिति रहेको थियो । आइफा अवार्डको २० औँ संस्करण आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । भने, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले हात पारेका छन् । चलचित्र ‘राजी’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ यसै गरी श्रीराम राघवनले चलचित्र ‘अन्धाधुन’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अदिति राव हैदरीले चलचित्र ‘पद्यमावत’बाट ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा  विक्की कौशलले चलचित्र ‘सन्जु’बाट ‘उत्कृष्ट सह–नायक’को अवार्ड जिते ।

नव–नायिकाको अवार्ड  ‘केदारनाथ’ कि साराअली खानको पोल्टोमा पर्‍यो र चलचित्र ‘धडक’बाट इशान खट्टरले नव–नायकको अवार्ड जिते । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ चलचित्रका लागि श्रीराम राघवन, पूजा लोधा श्रुति, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् । साथमा ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायिका’को अवार्ड दीपिका पादुकोणले जित्दा नायक रणवीर कपुरले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायक’को अवार्ड जिते । पछिल्लो २० बर्षकै उत्कृष्ट चलचित्रको अवार्ड ‘कहोना प्यार हे’ जित्दा राजकुमार हिरानीले ‘पछिल्लो २० वर्षकै उत्कृष्ट निर्देशक’को अवार्ड जिते । पछिल्लो २० वर्षकै उत्कृष्ट सङ्गीतको अवार्ड भने प्रितमले जितेका छन् । यी लगायत अवार्ड समारोहमा अन्य विभिन्न टाइटलमा अवार्ड वितरण गरिएको थियो ।