बानेश्वर स्थित नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । ‘वान सिनेमाज’ नाम दिइएको उक्त हल बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । फोके प्रविधिमा चलचित्र देखाइने हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । ‘वान सिनेमाज’मा शुक्रवारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । हलको उद्घाटन समारोहमा रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरूको उपस्थिति रहेको छ ।
हलका सञ्चालक तथा फिल्म निर्माता प्रभु शमशेर राणाका छोरा प्रज्वल राणाले दर्शकलाई फरक रूपमा फिल्म हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिट राखिएको बताउँछन् । हल शुक्रवारबाट सञ्चालनमा आउने भए पनि मल भने औपचारिक रूपमा अर्को साताबाट व्यावसायिक सञ्चालनमा आउने सञ्चालक प्रभु शमशेरले बताए । अहिले यो मल निर्माण गरिएको ठाउँमा दशक अगाडी शिवदर्शन हल थियो । बिहीबार उद्घाटन समारोहमा फिल्मकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो ।
दर्शकको इच्छा अनुसार मोडिफाइ गर्न सकिने आरामदायी सिटहरू समेत भएको र दर्शकलाई फरक रूपमा फिल्म हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिट राखिएको छ । हलमा डिजाइनदार फुड कोर्ड छ जसलाई कोरियोग्राफर तथा निर्देशक रेनशा बान्तवा राईले लामो समय लगाएर डिजाइन गरेकी थिइन् । यसलाई पनि दर्शकले निकै मन पराएका छन् ।