बिहीबार मात्र उद्घाटन भएको बानेश्वर स्थित ‘वान सिनेमाज’ मा शुक्रवार अपराह्न सञ्चारकर्मीको बाक्लो उपस्थिति बिच उपस्थित कलाकार समेतमा छुट्टै किसिमको उत्सुकता देखिन्थ्यो । नेपाली चलचित्रको इतिहासमा बक्स अफिसमा ठुलो हलचल ल्याउन सफल चलचित्र छक्का पन्जाको मेकर्सले निर्माण गरेको चलचित्र 'छ माया छपक्कै' को तर्फबाट आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । प्रदर्शन मितिलाई लिएर लामो समय अन्योलमा बिताएको वर्षकै बहुप्रतीक्षित चलचित्रले यसरी कुनै पूर्व सूचना बिना नै कार्यक्रम आयोजना गर्दा उपस्थित सबैमा कौतूहलले जन्म लिनु स्वाभाविक नै थियो । यसैबिच रहस्य खोल्दै कार्यक्रम चलचित्रको ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रका प्राय मुख्य कलाकार उपस्थित थिए भने चलचित्रका मुख्य कलाकार, कार्यकारी निर्माता केदार प्रसाद घिमिरे सुतिरहेका थिए । सुतेर समेत चलचित्र हेर्न मिल्ने सुविधा भएको हलमा माग्ने बुढा शिथिल अवस्थामा भेटिए । केही वर्ष अघि गम्भीर स्वास्थ्य स्थितिबाट गुज्रिएका उनी यस पटक भाइरलले थलिएका हुन् । देशमा महामारीको रूपमा फैलिएको डेङ्गु भाइरसको आशङ्कामा अस्पताल गएका उनलाई भाइरल मात्र भएको र केही समय बेड रेस्ट लिनुपर्ने डाक्टरले सुझाएका छन् । तर आफ्नो चलचित्रको ट्रेलर रिलिज हुने दिन जस्तो महत्त्वपूर्ण दिनमा आफू छुट्न नचाहेको कारण यस्तो अवस्थामा पनि उपस्थित भएको उनले बताएका छन् ।

चलचित्रका निर्माणका तर्फबाट अधिकांश व्यक्तित्वहरू उपस्थित भएको कार्यक्रममा कलाकार दीपकराज गिरिले नेपाली चलचित्र क्षेत्रमा रहेको बेथिति बारे आफ्नो विचार राखे । उनले विदेशी चलचित्रको बारेमा बोल्दा, चलिआएको बेथितिको बारेमा आवाज उठाउँदा आलोचना हुन्छ भने आफूलाई फरक नपर्ने बताएका छन् । अरूले जुन सुकै दिनमा चलचित्र प्रदर्शनमा ल्याए पनि नियन कानुन भन्ने कुरालाई बिर्सेर शक्ति लाई मात्र माने पनि आफू भने चलिआएको नियममा नै लाग्ने अडान लिए । नियम विपरीत जाने भए आफू जुनसुकै दिन चलचित्र प्रदर्शनमा ल्याउन सक्ने चाहे त्यो दसैँको टिका होस या अरू दिन नै किन नहोस् । आफू विदेशी चलचित्रसँग डराएर निर्धारित मितिमा चलचित्र प्रदर्शनमा ल्याएको आरोप पनि खण्डन गरेका छन् ।