आज अर्थात् असोज ३ गते संविधान दिवसको दिन पारेर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा आक्रामक देखियो । बिहान ८ बजेको सोजमा ७० प्रतिशत देखिएको अकुपेन्सीले दिउँसोदेखि शतप्रतिशत नाघ्यो । यसै गरी राति ९ बजेसम्मका सोहरू हाउस फुल भैसकेका छन् । चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको फिल्म हेरेका दर्शकको वर्ड अफ माउथले चलचित्रलाई लामो रेसको घोडा बनाउने निश्चित देखिन्छ । दर्शकले कलाकारको अभिनय र निर्देशकीय क्षमताको प्रशंसा गरेका छन् । वितरक कम्पनी ‘स्टेसन ५’ले दिएको जानकारी अनुसार चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको छ । यो वर्ष रिलिज भएका चलचित्र मध्ये ‘कबड्डी ३’ले गरेको ओपनिङ नै सर्वाधिक ठुलो हो । चलचित्रले दर्शकको राम्रो साथ पाएसँगै शनिवारका लागि मल्टीप्लेक्सले सो सङ्ख्या बढाएका छन् । रिलिजको पहिली दिन ६५ सो दिएको क्युएफएक्सले शनिवारको सो बढाएर ७४ पुर्‍याएको छ ।

यसै गरी १२ सो दिएको बिग मुभिजले १४ शोमा पुर्‍याएको छ । एफक्युबले ११ सोजबाट प्रदर्शन सुरु गरेको थियो भने शनिवार १३ सो बाँडेको छ । शुक्रवार ९ र ७ सो दिएका बिएसआर र क्युजले शनिवारको लागि समान १०१० सो छुट्ट्याएका छन् । यसै गरी, ८ सो दिएको सिडिसीले १ सो बढाएर ९ मा पुर्‍याएको छ । 'कबड्डी कबड्डी कबड्डी'मा दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय छ। निर्देशक गुरुङले कबड्डीको चौथो श्रृंखलासम्म बन्ने बताएका छन् ।