गएको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि नेपाली चलचित्रको बजार खस्किएको थियो । आशा गरिएका चलचित्रले पनि हलबाट निराश भएर फर्किनु पर्यो । यो वर्ष नेपाली बक्स अफिसलाई तताउने अपेक्षा गरिएका प्रतीक्षित चलचित्रमा एक हो रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ जुन हिजो शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले बम्पर ओपनिङ गरेको छ । दर्शकको चाप बढेसँगै चलचित्रको सोजहरू पनि बढाइएको छ । आज शनिवार बिहानैदेखि काठमाडौँ लगायत देशभरका मल्टिप्लेक्स हलमा दर्शकको छप उच्च रहेको रिपोर्ट आइरहेको छ । लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको हो । चलचित्रका कलाकार लगायत निर्माण पक्ष शनिवार बिहानदेखी नै विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।
आज नै चलचित्रकी नायिका उपासना सिंह ठकुरीको जन्मदिन समेत परेको छ । उनले चाबहिल स्थित गोपीकृष्ण हलमा चलचित्र युनिट र दर्शकको साथमा केक काटेर जन्मदिन मनाएकी छिन् । चलचित्रमा उपासनाको अभिनयको तारिफ दर्शकले खुलेर गरेका छन् । उनले चलचित्रमा काम गर्दाको अनुभव साँट्दै आफूभन्दा झन्डै डबल उमेर फरक का अभिनेता दयाहाङ सँग रोमान्स गर्दा साँच्चै नै काजीको अनुभव भएको बताइन् । आफूले चलचित्रबाट यती धेरै सकारात्मक प्रतिक्रिया पाउने आस नगरेको भन्दै, यो सफलताले भावुक बनाएको कुरा साटिन् । चलचित्रका कलाकार लगायत निर्माण टिम आज दिनैभर विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रतिक्रिया लिनेछन् । राजधानीको गोपीकृष्ण परिसरमा बिहानैदेखि चलचित्र हेर्ने दर्शकको घुइँचो लागेको छ भने, देशैभर चलचित्र हेर्न लामो समय पछि दर्शक ओइरिएका छन् ।
पहिलो दिन १ करोड ४७ लाख व्यापार गरेको सिनेमाले अझ ठुलो अङ्क हात पार्ने सङ्केत देखाएको छ । यही रफ्तारले चलचित्रको लगानी पहिलो विकेन्डमा उठ्ने देखिएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय रहेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।