असोज ३ गते संविधान दिवसको दिन पारेर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा दोस्रो दिन पनि आक्रामक देखियो । प्रदर्शनको दोस्रो दिनमा चलचित्रले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राख्न सफल भएको छ । नेपाली चलचित्रले एक दिनमा गरेको यो सबैभन्दा उच्च कलेक्सन हो । शनिवार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनी ‘स्टेसन ५’ले जानकारी दिएको छ । 

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो । यसरी चलचित्रको दुई दिने ग्रस कलेक्सन ३ करोड २५ लाख पुगेको छ । शुक्रवारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्यनजर गर्दै शनिवार देशैभर चलचित्रको लागि हल र शोज थपिएको थियो । 'कबड्डी कबड्डी कबड्डी'मा दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।  सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।