अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनको सँघारमा छ । पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी साम्राज्ञीले यस चलचित्रलाई लिएर ठुलो आशा बोकेकी छिन् । पछिल्लो समय उनी अभिनीत चलचित्र 'मारुनी' प्रदर्शनमा आएको थियो । जसमा उनले ट्रास्जेन्डर युवती को भूमिका निभाएकी थिइन् । चलचित्रमा उनको कामको प्रशंसा राम्रो मिलेको थियो । असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’बाट पनि उनले राम्रो अपेक्षा राखेकी छिन् उनीसँगै चलचित्रमा अभिनेता अंकित शर्माले डेब्यु गरेका छन् । अभिनेत्री साम्राज्ञीले शनिवार विभिन्न सहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरेकी छिन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए । त्यसमध्ये छानिएका तीस जनाले शनिवार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे ।
आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा उनीहरू निकै खुसी देखिन्थे । सबैले साम्राज्ञीको अभिनयको आफूहरू ठुलो प्रशंसक रहेको र कुनै फिल्म नछुटाइ हेर्ने गरेको बताए । चितवनबाट आएकी एक युवतीले साम्राज्ञीको अभिनय र ड्रेसिङ सेन्सको आफू ठुलो प्रशंसक रहेको बताइन् । प्यानहरूसँग भेट्दा खुसी देखिएकी साम्राज्ञीले दर्शकसँग प्रत्यक्ष भेट्न मन लाग्ने भएता पनि विभिन्न कारणले सम्भव नहुने बताउँदै यस प्रकारको मायाले राम्रो फिल्म गर्न आफूलाई सधैँ हौसला मिल्ने बताइन् । साम्राज्ञीले आफ्ना प्यानहरूलाई आफू मात्र भेटिनन् आफूसँगै काम गरेका ‘रातो टीका निधारमा’ का अभिनेता अंकित शर्मालाई पनि आफ्ना ‘डाइहार्ट फ्यान’ माझ चिनाइन् । उनले आफूलाई जस्तै अंकितलाई पनि माया र सपोर्ट गर्न फ्यानलाई आग्रह गरिन् । भेटघाटमा अंकितले पनि आफू साम्राज्ञीको फ्यान भएको खोले ।