कलाकारहरू ट्रोलको सिकार बन्नु कुनै नयाँ कुरा होइन । कहिले उनीहरू आफ्नै गल्तीका कारण ट्रोलको सिकार बन्छन् भने कहिले परिस्थितिले त्यस्तो बनाइदिन्छ । यति बेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नराम्रै सँग ट्रोलको सिकार बनिरहेकी छिन् । उनी शुक्रवार केबीसी सिजन ११ को स्पेसल एपिसोड 'कर्मवीर'मा सहभागी हुन पुगेकी थिइन् । यो उनको लागी निकै भारी पर्न गयो । राजस्थानकी रूमादेवी यादवको सहयोगमा केबीसी पुगेकी उनको सामान्य ज्ञान सम्बन्धी कमजोरीले लज्जित बनायो । उनलाई रामायण सम्बन्धी एक प्रश्न गरिएको थियो । हनुमानले कसको लागी सञ्जीवनी बुटी ल्याएका थिए भन्ने प्रश्न को सही जवाफ दिन नसक्दा उनको मजाक बनाइएको छ । उनी यस जवाफमा अड्किएर बाँकी रहेको एक लाईफलाईनको सहायता लिन पुगेकी थिइन् ।

यही प्रश्नलाई लिएर ट्रोल बनाउनुको मुख्य कारण भनेको उनको परिवार रामायणसँग निकै निकट रहेको छ किनकि उनका दुई भाइको नाम 'लव' 'कुश' रहेको छ भने उनी बस्ने घरको नाम नै रामायण राखिएको छ । उनको यो कमजोरीलाई ट्रोलमा आलिया भाटसँग दाँजिएको छ जसले केही समय अघि सो 'कफी विथ करण'मा भारतका राष्ट्रपति र महाराष्ट्रका मुख्यमन्त्रीलाई छुट्ट्याउन सकेकी थिइनन् ।