क्यानडाको टोरन्टोमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरियो । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी .ए . लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ । चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार सङ्घ अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधानलगायत उपस्थिति रहेको कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रतीक बुढाथोकीले ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताएका छन् ।

अवार्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय करण गर्नमा सहयोग गर्ने उनको विश्वास छ । नेपाल चलचित्र कलाकार सङ्घको विशेष सहयोगमा आयोजना हुने अवार्डमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायकमा रहेको छन् । प्रतीक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट वसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, विजय बस्याल, श्रीधर पौडेल, वैकुण्ठराज पराजुली आयोजक सदस्य छन् । अवार्डमा १२ बिबिध विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।